नेकपा स्थायी कमिटीको बैठक आज: अध्यादेश फिर्ता लिन दबाब दिने

नेकपा स्थायी कमिटीको बैठक आज: अध्यादेश फिर्ता लिन दबाब दिने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठक थप पेचिलो बन्ने देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् । पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ ।