मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

मन्त्री नेम्वाङद्धारा झापाका ३ पुलको निरीक्षण

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले झापाका तीन वटा पुल आयोजनाको स्थलगत अनुगमन गरेका छन्। शनिबार रुग्ण अवस्थामा रहेका झापाका विरिङ खोला पुल, माईखोला पुल र झापा–मारेङको सिमानामा रहेको रतुवा पूलको अनुगमन गरेका हुन्।

निरीक्षण गर्दै नेम्वाङले स्थानीय बासिन्दा तथा स्थानीय निकायका जनप्रतिनिधिसँग पुल निर्माणमा देखिएका समस्याका विषयमा छलफलसमेत गरेका थिए। मन्त्री नेम्वाङले लामो समयदेखि रुग्ण भएकाले समस्या समाधानका लागि अनुगमनमा आएको भन्दै उक्त आयोजनाहरुको काम अगाडि बढाउन कार्ययोजना बनाएर अघि बढ्न आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए।

तीन वटा पुलमध्ये रतुवा पुल निर्माण कार्य सकिए पनि नदीले धार परिवर्तन गरेपछि त्यहाँ समस्या देखिएको छ। उक्त समस्या समाधानको माग गर्दै स्थानीय तहका प्रमुखहरुले ज्ञापनपत्र बुझाएका छन्।

पूलको निरीक्षणपछि मन्त्री नेम्बाङले पुल निर्माणमा देखिएका समस्या समाधानका लागि त्यसका विस्तृत प्राविधिक पक्षहरु अध्ययन गरिने बताए। ‘यस्ता समस्या ग्रस्त आयोजनालाई त्यतिकै छाडिदैन। के गर्ने हो तुरुन्तै निर्णय हुन्छ,’ उनले भने।

मन्त्री नेम्बाङले समस्या देखिएकैले आफुले मन्त्रालय मातहत कार्यान्वयन गर्ने मन्त्रालयका सचिव, महानिर्देशक, आयोजना प्रमुखसहित अनुगमनमा आएको बताए।