December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

यसकारण टिकिरहेछन् बिहारको सत्तामा नीतीश

यसकारण टिकिरहेछन् बिहारको सत्तामा नीतीश

विधानसभा चुनाव प्रचारको अन्तिम दिन बिहारका मुख्यमन्त्री नीतीश कुमारले भनेका थिए, ‘आज चुनाव प्रचारको अन्तिम दिन हो, पर्सी चुनाव छ र यो नै मेरो आखिरी चुनाव हो, आफू भलो त जगत भलो…!’

५ नोभेम्बरमा यसो भन्दै गर्दा केही मानिसहरूले अब नीतीशको राजनीतिक भविष्य सकिएको अड्कल काटेका थिए। अर्कातर्फ केही मानिसहरूले नीतीशले यसो भनेर राजनीतिमा भावनात्मक सौदाबाजी गरिरहेको र एक पटक फेरि चुनाव जित्न खोजेको अनुमान गरे। किनकी, यसो भन्दा मानिसहरूले ‘अन्तिमपटक’ भन्दै नीतीशलाई भोट दिने सम्भावना रहन्थ्यो।

तर, जनता दल युनाइटेडले यो नीतीश कुमारको आखिरी चुनाव भएको स्पष्ट रुपमा भनेको थियो। राजनीतिका माहिर खेलाडी नीतीश कहाँ, कतिखेर र के बोल्ने भन्नेबारे निकै माहिर छन्

एएन सिन्हा इन्स्टिच्युट अफ सोसल साइन्सका प्राध्यापक डीएम दिवाकर नीतीश कुमारको राजनीतिलाई निकै नजिकबाट नियालिरहेका व्यक्ति हुन्। उनी भन्छन्, ‘नीतीश कुमार सामान्य सुझबुझ मात्रै भएका नेता होइनन्। उनी जे बोल्छन्–निकै सोचेर समझदारीपूर्ण ढंगले बोल्छन्। तर यस चुनावमा उनले विश्वास नै गर्न नसकिने धेरै कुरा बोलेका छन्। ती कुरा नीतीश कुमारले नै बोलेका हुन् भनी पत्याउन पनि मुस्किल पर्छ।’

चुनाव प्रचारको अन्तिम दिन नीतीशले बोलेका कुराबारे प्राध्यापक दिवाकर भन्छन्, ‘पार्टीभित्रका सर्वेसर्वालाई यो कुरा पहिल्यै जानकारी दिइएको थियो कि जनता उनको पक्षमा छैनन्। यस्तो वयान दिएर नीतीशले एक स्थान बनाए, ताकि नागरिकलाई आफूले गर्न लागेको कामबारे केही संकेत दिन सकियोस्।’

भयो पनि यस्तै ! चुनावी परिणाम हेर्दा नीतीशको पार्टी जनता दल युनाइटेडको प्रदर्शन त्यति खराब देखिएको छैन, जो मतगणना शुरु हुँदै गर्दा देखिएको थियो। अहिलेसम्मको आकंडाले नीतीश फेरि मुख्यमन्त्री बन्ने यात्रामा अघि बढिरहेको देखिन्छ। तर, मुख्यमन्त्री बन्न उनलाई आफ्ना दलले प्राप्त गरेको मतले मात्रै पुग्दैन, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को पनि समर्थन आवश्यक छ।

सन् २०१५ मा भएको चुनावमा पनि जेडीयु सबैभन्दा ठूलो पार्टी बनेको थिएन। तर नीतीशलाई महागठबन्धनले मुख्यमन्त्री बनाएको थियो। ठीक उसैगरी यस चुनावमा पनि एनडीएले नीतीशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको हो। भाजपाले एनडीएमा आवद्ध कुन पार्टीले कति सीट ल्याए भन्ने कुरालाई गौण राख्ने र नीतीशलाई मुख्यमन्त्री बन्नबाट नरोक्ने स्पष्ट पारिसकेको छ। एनडीएले चुनाव प्रचारका दौरान नीतीश कुमारलाई नै भावी मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो।

सन् २०१० का चुनावमा नीतीश कुमारको पार्टीले कुरा मात्रै गर्नेलाई १५ वर्ष, काम गर्नेलाई पाँच वर्ष नारा दिएको थियो। सो चुनावपछि बिहारमा लामो समय राज गरेका लालु यादवको १५ वर्षे सत्तायात्रा अन्त्य भएको थियो। अगाडिको १५ वर्ष नीतीश कुमारकै लागि भैदियो। नीतीशका समर्थकले लालु यादवको शासनलाई ‘जंगलराज‘ र नीतीशको शासनलाई ‘सुशासन‘ करार गर्न कुनै कसर बाँकी राखेनन्।

बिहारका वरिष्ठ पत्रकार मणिकान्त ठाकुर भन्छन्, ‘नीतीश कुमारले आफ्नो पहिलो कार्यकाल (सन् २००५–२०१०) मा निकै काम गरे। छात्राहरूका लागि पोशाक योजना ल्याए र उनीहरूलाई विद्यालय पठाए। उनको उद्धेश्य नै मानिसहरूको हितमा केन्द्रित रह्यो, लालु यादवको पालामा जबरजस्ती चन्दा असुली चरम सीमामा थियो, जसलाई नीतीशले आफ्नो कार्यकालमा लगभग बन्द गराइदिए। तर, पछिल्ला साढे सात वर्षयता नीतीशकै शासनकालमा भ्रष्टाचार निकै फैलिएको छ, हरेक योजना कार्यान्वयनमा विलम्ब भइरहेको छ।’

पत्रकार ठाकुरले गरेको दाबी ग्रामिण बिहारमा प्रष्टै पुष्टि हुन्छ। नीतीश कुमारका एकछापे मतदाता भनिएका महिलाहरूले नै ठूलो आकारमा भ्रष्टाचार फैलिएको बारम्बार बताउने गरेका छन्। आफ्नो पहिलो कार्यकाल पूरा गरेपछि नीतीशलाई सत्तामा रहिरहने राजनीति गरको आरोप लागिरहेको छ।

सन् २०१४ मा भएको लोकसभा चुनावभन्दा अघि नै भारतीय जनता पार्टीसँगको गठबन्धन तोडेर नीतीश लोकसभा चुनाव एक्लै लडेका थिए। तर उनले हारको सामना गर्नुपर्‍यो।

पत्रकार दिवाकर भन्छन्, ‘जीतनराम माझीले त्यस्तो अवस्थामा पनि नीतीशलाई मुख्यमन्त्री बनाए, किनकी उनलाई सन् २०१४ मा उच्च जातिको भोट मिलेन। उनी दलितलाई उनीहरूकै समुदायका व्यक्तिलाई सत्तामा राखेको सन्देश दिन चाहन्थे।’

तर, सन् २०१४ मे मा सीएम पद छाडेपछि नीतीश कुमारले फेब्रुअरी २०१५ मा जीतनराम माझीलाई पाटीबाट निकाले। १३० विधायकका साथ राजभवन पुगे र सरकार बनाउने दावी पेश गरे।

लगत्तै, विधानसभा चुनावमार्फत लालु यादवको १५ वर्षे शासन अन्त्य गरेर बिहारमा उदाएका नीतीशले यो सम्झिए कि गठबन्धन विना त्यहाँ सरकार बनाउन सम्भव छैन। यो महशुश भएसँगै जेपी र कर्पूरी ठाकुरको सानिध्यमा राजनीति सिकेका लालु र नीतीश एकसाथ उभिए। लालु र नीतीशको ‘सामाजिक न्यायका साथ विकास’ भन्ने नाराले बिहारमा भारतीय जनता पार्टीको ‘विकास’ नारालाई पटरीमा उतारिदियो।

तर, सन् २०१७ जुलाई २७ मा पटनामा राजनीतिक सरगर्मी बढ्यो, जब नीतीश कुमार राज्यपाल केशरीनाथ त्रिपाठीसँग मिल्न राजभवन पुगे र मुख्यमन्त्री पदबाट राजीनामा दिए। नीतीशले सो राजीनामा राज्यका तत्कालीन उप–मुख्यमन्त्री तेजस्वी यादवमाथि भ्रष्टाचार आरोप लागेसँगै दिएका थिए। उनले सोही आरोपलाई आफ्नो राजीनामाको कारण बताएका थिए।

यसलगत्तै नीतीश कुमार उही भाजपासँग मिलेर फेरि बिहारको सत्ता हाँक्न आइपुगे। त्यसअघि उनले भरिभराउ सदनमा भनेका थिए, ‘माटोमा मिल्न तयार छु, तर भाजपासँग सहकार्य गर्दिनँ।’

त्यसअघि नीतीशका उप–मुख्यमन्त्री रहेका तेजस्वी यादवले यो घटनालाई ‘पलटुराम’ भन्न थाले। नीतीशलाई ‘काका’ भनी सम्बोधन गर्ने तेजस्वी अब उनकै विरुद्ध मैदानमा उत्रिन थाले।

राजनीति समीकरण र सम्भावनाको खेल हो। यही तथ्यलाई सावित गर्दै नीतीश कुमारले सन् २०१९ मा भएको लोकसभा चुनावमा नरेन्द्र मोदीका लागि भोट मागिदिए।

जबकी उनले मोदीलाई ‘साम्प्रदायिक झुकाव’ भएको व्यक्ति भन्ने गरेका थिए। सन् २०२० मा नरेन्द्र मोदीले पनि उसैगरी विधानसभा चुनावम प्रचारका क्रममा नीतीश कुमारका लागि भोट मागे।

‘इञ्जिनियर बाबु’देखि ‘सुशासन बाबुसम्म’ 

पटना शहरसँगै जोडिएको बख्तियारपुरमा सन् १९५१ मार्च १ तारिखमा जन्मिएका नीतीश कुमारले बिहार इञ्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इञ्जिनियरिङ पढेका हुन्। यस क्रममा उनी ‘इञ्जिनियर बाबु’का नामबाट पनि चिनिन्थे।

जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्ति आन्दोलन’बाट नीतीश कुमार नेताका रुपमा उदाएका हुन्। जो डेढ दशकसम्म बिहारको सत्तामा रहे।

नीतीशका कलेज जीवनका सहपाठी अरुण सिन्हाले आफ्नो किताब ‘नीतिश कुमार : द राइज अफ बिहार’मा लेखेका छन् कि विद्यार्थी कालमा नीतीश कुमार राज कपुरका फिल्मका फ्यान थिए। साथीहरूको हस्यौली–ठट्यौली छल्न उनी राज कपुरका चलचित्र हेर्ने गर्थे।

कलेजबाट पाउने १५० रुपैयाँ भारु छात्रवृत्तिबाट नीतीश हरेक महिना किताब र म्यागजिनहरू खरिद गर्थे। तर अन्य बिहारी छात्रछात्राका लागि त्यतिखेर पाठ्यक्रम बाहिरका पुस्तक र म्यागजिन पढ्नु एक सपना जस्तै हुने गर्थ्यो। तर स्वतन्त्रता सेनानीका पुत्र नीतीशको झुकाव सधैँ राजनीतितर्फ नै रह्यो।

लालु यादव र भारतका विवादित पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको छायाँमा राजनीति शुरुवात गरेका नीतीश कुमारले यसमै ४६ वर्ष गुजारिसकेका छन्। सन् १९९५ मा समता पार्टीले जम्मा सात सीट जितेपछि नीतीशले राज्यमा तीन पार्टी अलग–अलग रुपमा चुनावी लडाइँ लड्न नसक्ने आंकलन गरे र सन् १९९६ मा भाजपासँग गठबन्धन गरे।

त्यसबखत लालकृष्ण आडवाणी र अटल बिहारी वाजपेयीको हातमा नेतृत्व थियो। त्यसैले भाजपासँगको गठबन्धनले नीतीशलाई फाइदा पुग्यो र सन् २००मा उनी पहिलोपटक मुख्यमन्त्री बने। त्यतिखेर जम्मा सात दिनका लागि सो पद मिलेपनि मिलेपनि उनले लालु यादवका विरुद्ध आफूलाई एक ठोस विकल्पका रुपमा उभ्याउन सफल भए।

महादलितको राजनीति

सन् २००७ मा नीतीश कुमारले दलितमध्ये पनि सबैभन्दा पछाडि रहेका दलितहरूलाई समेटेर एक ‘महादलित’ क्याटागोरी बनाए। उनीहरूका लागि सरकार योजना ल्याए र सन् २०२० मा आवास, शिक्षाका लागि ऋण र विद्यालय पोशाक दिने योजना अघि सारे।

आज बिहारमा सबै दलित जातिलाई ‘महादलित’ क्याटागोरीमा समावेश गरिसकिएको छ। सन् २०१८ मा पासवानहरूलाई पनि ‘महादलित’को दर्जा दिइसकिएको छ।

हुन त बिहारमा दलितका सबैभन्दा ठूला नेता रामविलास पासवान हुन्। तर नीतीश कुमारले नै दलितहरूका लागि ठोस काम गरेकाले लोकप्रिय रहेको जानकारहरू बताउँछन्।

नीतीश स्वयम् चार प्रतिशत जनसंख्या भएको कुर्मी जातिका हुन्। तर सत्तामा रहँदा उनले सधैँ तिनै पार्टीहरूसँग मिलेर गठबन्धन बनाई चुनाव लडे : जोसँग ठोस जाति र वर्गका मतदाताहरू थिए।

भाजपासँग मिलेर लडेको चुनावमा उनले सवर्ण मतदाताहरूको साथ पाए। सन् २०१५ मा यादव–मुस्लिम आधार भएको आरजेडीसँग गठबन्धन बनाए।

पछिल्लो चुनावको अन्तिम दिन नीतीशले जुन भाषण गरे, त्यसले जनता दल युनाइडेटमा नीतीशलाई निर्विकल्प बनाइदिएको छ। सो पार्टीभित्र नीतीशको विकल्प को हुनसक्ला भनी खोज्दा उनीजति प्रभावशाली अनुहार कसैको भेटिँदैन।

मणिकान्त ठाकुर भन्छन्, ‘नीतीश कुमार बिनाको जेडियु केही पनि होइन। आज जेडियु जुन अवस्थामा छ, यसको जिम्मेवार नीतीश नै हुन्। उनले कहिल्यै पनि आफू रहँदासम्म अरु नेतालाई स्थान दिएनन्। क्याबिनेटमा पनि नीतीशका कोही यस्ता मित्र छैनन्, जसले नीतीशलाई नसोधी आफ्नो मन्त्रालयबारे आफैँले फैसला लिन सकुन्।’

विनम्र र सौम्य छवी भएका नीतीश कुमार राजनीतिका मामिलामा त्यति नै निर्मम हुन सक्छन्, जति बाँकी बाँकी राजनेता! ठाकुर थप्छन्, ‘उनले शरद यादव र जर्ज फर्नान्डिजका साथ मिलेर के के गरे, यो सबैलाई थाहा छ।’

नीतीश कुमारको पार्टीको कुनै संस्थागत ढाँचा छैन। बिहारको सुदूर जिल्लामा जेडियुसँग बुथमा प्रतिनिधि बस्ने कार्यकर्ता समेत छैन। तर, नीतीश कुमारको राजनीतिक कौशलता यस्तो रह्यो कि उनले विभिन्न राज्यमा घोषित मतदाता रहेका पार्टीलाई पनि किनारा लगाउँदै बिहारको सत्तामा १५ वर्षसम्म विराजमान रहे।thahakhabar

(बीबीसी हिन्दीबाट अनुवाद गरिएको)