November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

डोटीका किसान ढिके नुनसँग भटमास र बेथे साट्दै

डोटीका किसान ढिके नुनसँग भटमास र बेथे साट्दै

डाेटी – जताततै दशैँको चहलपहल बढीरहेका बेला डोटी जिल्लाका कृषकहरु भटमास र बेथेको भारी बोकेर यहाँको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार धाउन थालेका छन् ।

गाउँमा आफूले फलाएका भटमास र बेथे ढिके नुनसँग साट्नका लागि किसानहरु दिनहुँ यहाँका प्रमुख बजारहरुमा धाउने गरेका हुन् । यहाँका बजारमा गाउँबाट आएका किसानले प्रतिकिलो भटमाससँग तीन किलो ढिके नुन तथा बेथेसँग अढाई किलो ढिके नुन साट्न थालेका छन् ।

जिल्लाका किसानले धान भित्र्याइ सकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी नै चलेको आदर्श गाउँपालिका मौवाका स्थानीय तीलक ओझाले बताउनुभयो ।

‘यो वर्ष गाउँमा भटमास र बेथे धेरै उत्पादन भएको छ’ उहाँले भन्नुभयो, ‘किसानलाई बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ भएको छ ।’

किसानले आफूले उत्पादन गरेकाे भटमास तथा बेथे बिक्रीका लागि यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखान लगायतका ठाउँमा धाउने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको नुन साट्दै आएका दिपायल पिपल्लामा रहेको घटाल ट्रेडर्स एण्ड सप्लायर्सका व्यापारी वीक्रमबहादुर साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ग्राहकहरु नगद भन्दा पनि नुनसँग सामान साट्न राम्रो मान्ने भएकाले पनि हामी वस्तु विनिमय गरिरहेका छौँ, साट्ने र हामीलाई राम्रै भएको छ ।’

अहिले यहाँका नौ वटै स्थानीय तहका अधिकांश गाउँँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारीकहाँ धाउन थालेका छन् । भटमास उत्पादन गर्ने किसान दैनिकजसो ठूलो मात्रामा भटमास लिएर ढिके नुनसँग साट्न आउँछन् र त्यसको साटो ढिके नुन लगेर फर्किने गर्छन् ।

भटमाससँग किसानले ढिके नुन साट्न थालेपछि यहाँका बजारमा अहिले भटमास सङ्कलकहरुले ठाउँ–ठाउँमा ढिके नुन सहितका तराजु राखेर बसेको देख्न पाइन्छ ।

यहाँका किसानले वर्षायाममा सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः अन्य जङ्गली जनावरले नोक्सान नगर्ने भएका कारण पनि जिल्लामा सबैभन्दा बढी उत्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ कार्यालयको तथ्याङ्कले जनाएको छ ।

यहाँका ग्रामिण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुने गरेको स्थानीयबासीहरु बताउछन् । गाई, भैंसी सहित अन्य बस्तुभाउलाई कुडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानहरु बढी जसो ढिके नुन नै खरिद गर्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी जहरसिंह खवासले बताउनुभयो ।

‘गाउँघरमा बस्तुभाउका लागि बढी जसो ढिके नुन नै प्रयोग गरिन्छ, त्यही नुन मानिसले पनि प्रयोग गर्छन्’, उहाँले भन्नुभयो, ‘यहाँका स्थानीयले वर्षभरिको लागि भटमास र बेथेसँग नुन साटेर जम्मा गरेर राखेका हुन्छन् ।’

जिल्लामा आयोडिनयुक्त नुनको प्रयोग बढाउन विभिन्न कार्यक्रम गरिए पनि यहाँका गाउँ घरका स्थानीयले खासै आयोडिनयुक्त नुनको प्रयोग नगर्ने गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन जनचेतनामूलक कार्यक्रम गरे पनि कसैले त्यसको प्रयोगमा ध्यान नदिएको उहाँको भनाइ छ ।

‘आयोडिनयुक्त नुनका फाइदाबारे सिकायौँ तर कसैले पनि खासै आयोडिनयुक्त नुन प्रयोग गरेनन्’, उहाँले भन्नुभयो ।