November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

मदिराको सुरमा गाउँपालिकाको गाडी तोडफोड

मदिराको सुरमा गाउँपालिकाको गाडी तोडफोड

हुम्ला–मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। पार्किङ् गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो।

बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन्। मदिराले लठ्ठ  मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ ।    गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् ।

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासी आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन्। मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेका छन्। उनलाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सदरमुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन्। रासस