November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार

३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली सखाप पारेर सलह तिब्बत पस्यो

भाद्र २२,काठमाडाैं । नआउने अनुमान चिरेर नेपाल प्रवेश गरेको सलहले नेपालमा ३ हजार हेक्टरमा लगाएको बाली सखाप पारेको प्रारम्भिक तथ्यांक निकालिएको छ । विज्ञहरुको नआउने पूर्वानुमानसंगै ढुक्क परेर बसेका नेपाली किसानहरुले ठूलो क्षेत्रमा लगाएको बाली सखाप पारेर सलह चीनको श्वसाशित क्षेत्र तिब्बत पसेको छ ।

दुई महिनाअघि ठुलो संख्यामा नेपाल छिरेको सहल किराले ३ हजार हेक्टर क्षेत्रफलमा लगाएको बाली नष्ट गरेको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र गरेको अध्ययनले उक्त प्रारम्भिक तथ्यांक निकालेको हो । भारतबाट ठूलो समूहमा सहल कीराको झुण्ड नेपाल छिरेपनि किसानाहरु चनाखो भएर थाल, कचौरा ठट्टाएरै सहल भगाएकाले कृषि क्षेत्रमा त्यति ठूलो क्षति नगरेको विषादी व्यवस्थापन केन्द्रको निष्कर्ष छ ।

नेपालको प्रदेश नम्बर दुईको बारा पर्साबाट नेपाल प्रवेश गरेको सलह पछि नेपालको सबैजसो भागमा पुग्न सफल भएको थियो । चिसोको कारण पहाडी जिल्लामा जान नसक्ने अनुमान गरिएपनि सलह पछि हिमाली जिल्लाहरुमा समेत हमला गर्न पुगेको थियो ।

नेपालमा हाललाई भने सलह कीराको प्रकोप टरेको छ । साउनदेखि कुनैपनि भूभागमा सलह कीरा नदेखिएपछि यस्को संकट टरेको कृषिविद्हरुले अनुमान गरेका छन् । तीन पटक गरेर नेपाल प्रवेश गरेका सलहको प्रकोपबाट साउनको अन्तिमदेखि कुनै पनि भूभागमा सलहको बगाल देखिएको विवरण नआएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीको भनाइ छ ।

सहल कीराले क्षति पुर्‍याएको जिल्ला

मकवापुर : १०० हेक्टर
दाङ : ५ सय हेक्टर
प्यूठान : १ हजार हेक्टर
मूलुकभर : ३ हजार हेक्टरको २५ प्रतिशत क्षति

सलह कीराले अन्य जिल्लामा त्यति क्षति पु¥याएको विवरण आएको छैन् । जस्तै केही हेक्टरमा क्षति हुने जिल्लामा रुपन्देही, कपिलबस्तु, पाल्पा, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, झापा, मोरङ, कञ्चनपुर,बाँके,रोल्पा लगात रहेका छन् ।

नेपालमा केही क्षति पुर्‍याएपनि भविष्यमा सलहबारे काम गर्दा फाइदा पुग्ने र सलहबारे अध्ययनका लागि पनि यो पटक देखिएको सलहको प्रकोप निकै उपयोगी र नौलो कुरा भएको कृषिविद्हरुको निष्कर्ष छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार गत साउन पहिलो सातातिर चिनियाँ अधिकारीहरूले नेपालको बाटो हुँदै सलह तिब्बतमा पुगेको जानकारी गराएका थिए । यस अघि झन्डै ६० वर्षअघि नेपालमा सलह कीरा भेटिएको थियो । यसपटक नेपालमा हिमाली जिल्लाहरूमा हुम्ला र मुस्ताङमा समेत सलह पुगेको थियो । ती क्षेत्रबाटै सलह तिब्बतमा प्रवेश गरेको अनुमान गरिएको छ ।